स्थानीयसँगको झगडापछि सम्पर्कविहीन बनेका प्रहरी पक्राउ

सोलुखुम्बु, जेठ २८
स्थानीयसँग झगडा गरी सम्पर्कविहीन बनेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी कर्मचारी रिन्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २ गते जिल्ला प्रहरी कार्यालय सल्लेरीबाट जिल्लाकै नेचासल्यान हिंडेका शेर्पा र स्थानीय युवाबीच गाउँपालिकाको वडा नम्बर २ खाल्पामा झगडा भएपछि उनी सम्पर्कविहीन बनेका थिए । कार्यालयकै कामको सिलसिलामा सल्यान गएका बेला स्थानीयले लकडाउनको बेला हिँडेको भन्दै रोकेर आफूमाथि कुटपिट गर्नुका साथै मोबाइल र मोटरसाइकलको चाबीसमेत थुतेको शेर्पाको भनाइ छ ।

स्थानीय दुई युवाले आफूमाथि कुटपिट गरी खुकुरीसमेत प्रहार गरेको शेर्पाको आरोप छ । घरेलु हातहतियारसहित गाउँका अन्य स्थानीयले समेत लखेटेपछि आफू जंगलमा गएर बसेको शेर्पाले बताएका छन् । मोबाइलसमेत साथमा नभएको तथा गाउँमा आउँदा आफूमाथि कुटपिट हुने डरले जंगलमा गएर बसेको उनले बताए । शेर्पालाई आइतबार साँझ ६ बजे प्रहरीले पक्राउ गरेको जनाएको छ । नेचा सल्यान गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाको सिमानामा पर्ने तिङ्लाबाट उनलाई प्रक्राउ गरिएको सोलुखुम्बुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । २४ दिनसम्म पनि सम्पर्कमा नआएको र गाउँमा डुली हिँडेको भन्ने सूचनाअनुसार उनलाई अनुसन्धान गर्नका लागि हिरासतमा राखिएको प्रहरीको भनाइ छ । अनुसन्धानपछि मात्रै बास्तविकता थाहा हुने प्रहरीको भनाइ छ । झगडा भएपछि शेर्पा फरार भएको र स्थानीय युवासँग उनको मोबाइल फेला परेको थियो भने उनले लिएर गएको मोटरसाइकल पनि सोही स्थानमा रहेको थियो ।

दर्नालका अनुसार शेर्पालाई प्रहरीले हिरासतमा राखी अनुसन्धानसहित विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । सोही घटनामा संलग्न भएको आरोपमा सल्यानका ३० वर्षीय सान्तोष राई र २७ वर्षीय मिनबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई समेत केही दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपश्चात् धरौटीमा छाडिएको प्रहरीको भनाइ छ । घटनापछि सम्पर्कविहीन बनेका शेर्पाको खोजीकार्यमा स्थानीयसहित प्रहरी टोली खेटेको थियो । केही दिनअघिदेखि प्रहरी कर्मचारी शेर्पा सोही गाउँको जंगलमा बस्ने गरेको जानकारी पाएपछि स्थानीयमा त्रास पैदा भएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie