रहेनन् कम्प्युटर माउसका सहअन्वेषक बिल इंग्लिस

रहेनन् कम्प्युटर माउसका सहअन्वेषक बिल इंग्लिस

अमेरिका, (बीबीसी) साउन २०
कम्प्युटर माउसका सहअन्वेषक विलियम इंग्लिसको ९१ वर्षको उमेरमा निधन भएको छ । इन्जिनियर तथा अन्वेषक सन् १९२९ मा केन्टुकीमा जन्मिएका थिए । उनले यूएस नेभी (अमेरिकी सेनाको एउटा अंग) मा संलग्न हुनुअघि इलेक्टोरल इन्जिनियरिङ अध्ययन गरेका थिए ।

सन् १९६३ मा मा पहिलो माउस बनाएका उनले आफ्नै साथी डग एन्जेलबार्टको अवधारणा प्रयोग गरेका थिए । उनीहरु दुवै जना मिलेर सुरुवाती कम्प्युटिङमा त्यतिबेला काम गरिरहेका थिए । त्यसको दुई दशकपछि मात्र व्यक्तिगत कम्प्युटरहरुले प्रसिद्धि पाएका थिए । अमेरिकी मिडियाहरुले उनको मृत्युको पुष्टि गरेका छन् ।

बिल इंग्लिसले स्ट्यान्फोर्ड रिसर्च इन्स्टिच्युटमा एन्जेलबार्टको रिसर्च परियोजनामा माउसको प्रोटोटाइप बनाएर माउस प्रयोग गर्ने पहिलो व्यक्ति बनेका थिए । तर यसको अवधारणा भने एन्जेलबार्टको थियो । तर एन्जेलबार्टले भने यसलाई ‘सानो नोट’ भनेका थिए । तर बिलले भने माउस नै बनाइदिए । उनले बनाएको पहिलो माउस काठको टुक्राबाट बनेको थियो, जहाँ एउटा मात्र थिच्न मिल्ने थियो । तलतिर ९० डिग्री कोणमा घुम्ने दुईवटा पांग्राहरु थियो । यसले ठाडो र छेउका गतिविधि रेकर्ड गथ्र्यो ।

सन् १९९९ मा इंग्लिसले कम्प्युटर हिस्ट्री म्युजियमलाई भनेका थिए, ‘हामी अक्षर सम्पादनका लागि काम गरिरहेका थियौँ, हाम्रो उद्देश्य अक्षर र शब्द सेलेक्ट (छान्ने) गर्न सक्ने डिभाइसको विकास गर्नु थियो ।’ त्यसपछि उनीहरुले माउसको परीक्षण गराएका थिए । प्रयोगकर्तालाई माउससँगै लाइट पेन वा जोयस्टिक पनि प्रयोग गर्न लगाइएको थियो । उक्त परीक्षणले माउस नै रोजाइ बन्यो । उनीहरुले यससम्बन्धी कागजात तयार गरे तर वर्षौँसम्म त्यसको बेवास्ता भयो ।

सन् १९६८ को प्रदर्शनीमा पहिलोपटक माउस सार्वजनिक गरिएको थियो । तर यसको नाम माउस दुईमध्ये कसले र किन राख्यो भन्नेमा दुवै अन्वेषकले सम्झना नभएको बताएका थिए । सुरुमा यसको नाम लामो राख्न खोजिए पनि उनीहरुलाई नै छोटो नाम राख्नुपर्छ भन्ने लागेको इंग्लिसले बताएका थिए । इंग्लिस ग्राफिक डेस्कटप युजर इन्टरफेस सिस्टम जुन मोडेम कम्प्युटरहरुले प्रयोग गर्छन्, त्यसको निर्माणका लागि पनि हकदार मानिन्छन् ।

उनले सन् १९७१ मा स्ट्यान्फोर्ड रिसर्च इन्स्टिच्युट छोडेका थिए । त्यसपछि जेरोक्सको प्रसिद्ध पार्स रिसर्च सेन्टरमा आबद्ध भए । त्यहाँ उनले पहिलो माउसको डिजाइनलाई रोलिङ बक्सले प्रतिस्थापित गरे । जुन डिजाइन अर्को दशकसम्मका लागि प्रसिद्ध भयो । यस्तै प्रकारको अर्को डिजाइन जर्मन कम्पनी टेलिफंकेनले पनि बनाएको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याबाट क्यालिफोर्नियामा जुलाई २६ मा उनको मृत्यु भएको उनकी श्रीमती रोबर्टाले बताइन् । एन्जेलबार्टको सन् २०१३ मा ८८ वर्षको उमेरमा मृत्यु भएको थियो । माउसका आविष्कारक भए पनि उनीहरुले उल्लेख्य आम्दानी भने गर्न नसकेको मिडियाहरुले जनाएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie