“समन्वय र सहकार्य योजना कार्यान्वयनको महत्वपूर्ण पक्ष हो”

“समन्वय र सहकार्य योजना कार्यान्वयनको महत्वपूर्ण पक्ष हो”


फरक शैलीमा दीर्घकालिन महत्वका योजनाहरु कार्यन्वयनमा ल्याउन बढी उत्सुक रहने टेकराज पन्थी सैनामैना नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत हुन । गुल्मी जिल्लामा जन्मिएर विगत २७ बर्ष देखि सेवारत पन्थी नासुबाट निजामति क्षेत्रमा प्रवेश गरेका हुन । हिमाल, पहाड तराई सबैक्षेत्रमा कार्यअनुभव संगालेका पन्थीलाई सबैभन्दा बढी चुनौती तराई क्षेत्रअन्र्तगत मधेशी समुदायमा हुने अनुभव छ । सूचना तथा सञ्चार मन्त्रालय, साविकको स्थानिय विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, विभिन्न जिल्लाका साविकका जिल्ला विकास समितिहरु कार्यसम्पादन गरी सकेका पन्थीले एकै पटक पछिल्लो समयमा पाँच वटा स्थानियतहहरु प्रमुख प्रशासकीय अधिकृतको भूमिका निभाएका थिए । पाँच वटा विषयमा स्नातक, तीन वटा विषयमा स्नातककोत्तर गरेका पन्थी हाल पिएचडी गर्ने तयारीमा छन् । चुनौतीहरु भएको क्षेत्रमा काम बढी रुचाउने पन्थी चुनौतीको सामना गर्नु नै सफलता प्राप्तीको आधार भएको बताउँछन्् । छलफल, प्रतिक्रिया, सञ्चार कर्मीहरुको धारणा, सम्पूर्ण सरोकारवालाहरु सँगको सहकार्य, समन्वय र जनताका बीचमा रहेर गरिएका कामहरु विवाद रहित, जवाफदेयिता, पार्दशी र शु–शासनको प्रत्याभूत गराउने खालका हुने धारणा राख्ने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी सँग पोसकान्त पोखरेल ले गरेको कुराकानीको संक्षिप्त अंशः

चालु आर्थिक बर्षको लागि नगरपालिकाले कति बजेट विनियोजन भएको छ ?

कूल ७० करोड ८३ लाख ७७ हजार पाँच सय ४६ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएका छौं । ४५ करोड ९४ लाख ८७ हजार पाँच सय ४६ रुपैयाँ चालुतर्फ रहेको छ भने २४ करोड ८४ लाख सात हजार रुपैयाँ पुँजीगत खर्चतर्फ रहेको छ । अनुमानित बजेटमा गरिएको खर्च व्यहोर्ने श्रोतहरु मध्ये संघीय सरकारबाट प्राप्त अनुदान ५६ करोड ९२ लाख ८७ हजार दुई रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान एक करोड ५७ लाख रुपैयाँ र आन्तरिक आम्दानीबाट १३ करोड ३१ लाख ९० हजार पाँच सय ४४ रुपैयाँ रहेका छन् ।

विगतमा भन्दा बजेट कम देखिन्छ नी, हो ?

प्रमुख कारण भनेको सोचे जस्तो श्रोत प्राप्त नहुनु हो । आम्दानी थोरै योजना धेरै भयो भने सम्पन्न योजनाहरुको भुक्तानीमा हुने समस्यालाई मध्यनजर गर्दै कम बजेट विनियोजन गरिएको हो । चालु आर्थिक बर्षमा ढुङ्गा गिट्टी वालुवाको ठेक्कापट्टा लगाउन सकेनौं । जसले गर्दा अनुमान गरिएको आन्तरिक राजश्व संकलनमा ५० प्रतिशत कमी भयो । जसले विकास निर्माणका कामहरुमा हामीलाई एउटा चुनौतीको सामना गर्नुपर्ने अवस्थाको सृजना गरेको छ ।

बजेटले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएको छ ?

पहिलो प्राथमिकता स्वास्थ्यलाई छ । कृषि र शिक्षा त्यस पछिका प्राथमिकताका क्षेत्रहरु हुन । यद्यपी अन्य क्षेत्रका योजनाहरु पनि सञ्चालनमा ल्याउने गरी बजेट विनियोजन भएको छ । बजेटले स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधार विकास, सञ्चार लगायतका क्षेत्रहरुका योजनाहरुलाई पनि सम्बोधन गरेको छ । विद्युतीय समस्या न्यूनिकरणको लागि नेपाल विद्युत प्रधिकरणको सहकार्य र समन्वयमा एउटा ठुलो ट्रान्सफर्म राख्ने, बसपार्क, पेट्रोलपम्प, व्यवस्थित शौचालय, रेष्टुरेण्ट, आराम गर्नको लागि आरामदायी रुमको व्यावस्था सहतिको स्मार्ट केन्द्र सञ्चालनको लागि पनि आगामी आवमा योजना अगाडी सारिएको छ ।

गत आर्थिक बर्षमा बजेट खर्चको अवस्था कस्तो छ ?

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त विकास बजेट अन्र्तगतको खर्च ७८ प्रतिशत भएको छ भने स्थानिय सरकार सहित संघ र प्रदेश सरकारको कूल विकास बजेट खर्च ६० प्रतिशत भएको छ । त्यसैगरी चालुतर्फको ८० प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक बर्षमा विकास बजेट तर्फको छ करोड ३१ लख १६ हजार १७ रुपैयाँ खर्च गर्न सकेनौं ।

कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि के कस्ता कामहरु गर्नु भयो ?


संक्रमण फैलन नदिनु नै हाम्रो सबैभन्दा महत्वपूर्ण प्रयास हो । उक्त प्रयासले हामीलाई लक्ष्यमा पु-याउन सफल भयो । तीन चरणमा विपन्न वर्गहरुमा राहत वितरण गरिसकेका छौं । राहत वितरणको कार्यक्रमले दैनिक ज्यालादारी गरेर खानेहरुको लागि भोकै मर्नु पर्ने बाध्यतात्मक अवस्थाको अन्त्य भएको छ । भारतीय सीमा नाकामा अलपत्र परेका नगरबासीहरुको लागि सवारी साधनको व्यावस्था गरेर स्वास्थ्यकर्मी सहितको टोलीले सुरक्षित रुपमा ल्याई क्वारेण्टाईनमा व्यावस्थापन गरेका छौं । चेकजाँच गरेर सम्भावित खतरा टरेपछि उहाँहरुलाई आफ्नो आफ्नो घर पठाएका छौं । जसले नागरिकहरु सुरक्षित हुनुको साथै बाहिरबाट आउनुभएकालाई राहतको अनुभूति मिलेको छ ।

खाद्यन्न वितरणमा कस्तो बिधी अपनाउनु भयो वा भएन ?

पैसा नहुनेलाई त नगरपालिकाले राहत वितरण ग-यो मैले अघिपनि भनिसके । जहाँ सम्म पैसा भएर किनेर खान पाईएन भन्ने कुरा छ नगरपालिकामा त्यस्तो अवस्था सृजना हुनै दिंएनौं । भण्डारण रित्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै कर्मचारी जनप्रतिनिधीहरुको अनुगमन, सक्रियता र सहकार्यमा सैनामैना उद्योग बाणिज्य संघद्वारा खाद्यन्न विक्री वितरण, सैनामैना व्यापार संघ मार्फत कृषकहरु सँगबाट तरकारी खरिद गरी कृषि एम्बुलेन्स मार्फत घर/घर र चोक/चोकमा खाद्यन्न पु¥याउन सफल भयौं । जसले सर्वसाधारणको भान्सामा हुने खाद्यन्न अभावको अवस्थालाई सृजना हुने माहोल नै बन्न दिएन ।

भाईरस संक्रमण नियन्त्रणमा कुनै चुनौतीको सामना गर्नु प-यो ?

सुरुमा मुख्य चुनौती कोरोनाभाईरस संक्रमण नियन्त्रण भयोे । त्यसमा भारतबाट छिटो छिटो आगमन हुनु, प्रचार प्रसार हुन नसक्नु, तत्काल
क्वारेण्टाईन व्यावस्थापन गर्न नसक्नु, डाक्टर सहितको स्वास्थ्य टोली बनाएर आईसुलेशनको निर्माण गर्नु पर्ने, औषधी लगायत स्वास्थ्य सामाग्री व्यावस्थापन गर्नु पर्ने, खाद्य समस्या समाधान गर्नु पर्ने लगायत धेरै चुनौतीहरुका वावजुत पनि जनतालाई संक्रमणबाट बचायौं यो नै महत्वपूर्ण उपलब्धी हो ।

भाईरस संक्रमण नियन्त्रणमा कत्तिको सहयोग पाउनु भयो ?

बुझ्ने जनता, कर्तव्यबोध गर्ने जनप्रतिनिधी, लगनशिल र मिहेनती कर्मचारी भएपछि कुनै पनि काममा केही समस्या आउँदैन । जति संक्रमित थिए त्यतिमै सिमित रहनु त्यसको एउटा उदाहरण हो । संक्रमण नियन्त्रणमा सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुभयो जुन प्रशंसनीय छ । लकडाउनको पालना गर्ने, दुरी कायम गरी कार्यसम्पादन गर्ने, संक्रमण नियन्त्रणको लागि सूचना प्रवाह गर्ने, सुरक्षाका उपायहरु अवलम्बन गर्ने जस्ता कामहरु स्थानियहरुबाट भएका छन् ।

नगरपालिकाले जनप्रतिनिधी पाएको तीन बर्ष भैसक्यो विकास निर्माणमा कत्तिको प्रगति भएको छ ?

जनप्रतिनिधी बिहीन अवस्था वा स्थानिय तहहरुको निर्वाचन पूर्व सर्वदलीय छलफल पश्चात योजनाहरु कार्यान्वयनमा ल्याईन्थ्यो । आ–आफ्नै पार्टीका आफ्नै अडानले गर्दा केही योजनाहरु विवादित भई कार्यान्वयन ल्याउन सक्ने अवस्था हुँदैनथ्योे । विकास निर्माणमा विगतको उक्त अवस्था अहिले पूर्ण रुपमा अन्त्य भएको छ । दु्रतगतिमा विकास निर्माणका कामहरु गर्न धेरै सहज भएको छ । पहिलो बर्ष भन्दा दोश्रो बर्ष, दोश्रो बर्ष भन्दा तेश्रो बर्ष बढी विकास निर्माण सम्बन्धी कामहरु भएकोले विकास निर्माणमा एक खालको जग बसेको छ । चक्रपथ निर्माणधिन अवस्थामा छ । खेल मैदानको निर्माण, बुटवल उपमहानगरपालिका, कञ्चन गाउँपालिका र सैनामैना नगरपालिका तीन स्थानियतहको सक्रियतामा फोहरमैला व्यावस्थापन केन्द्र आयोजनाको रुपमा स्थापित गरी प्रक्रियागत रुपमा अगाडी बढेको छ । स्वच्छ पिउने पानीको व्यावस्था, साँस्कृतिक शहर निर्माणको लागि गृहकार्य, घरबार बिहीनको लागि नमूना बस्तीको निर्माण, दु्रत सूचना प्रवाहको लागि रेडियो टेलिभिजन सञ्चालनको स्वीकृति, शवदाह गृह निर्माण, सामुदायिक बनहरुमा हुने चोरी निकासी रोकथामको लागि तारबारको व्यावस्था, औद्योगिक ग्रामको स्थापना, सर्पदम्स केन्द्रको स्थापना, विद्यालयहरुलाई आईटीमैत्री बनाईदैं, कक्षा ८ र ५ का परीक्षाहरु नगरपालिकाबाट सञ्चालन, शैक्षिक गुणस्तर मापन गर्दै गुणस्तरिय शिक्षामा जोड, बौद्धकालिन महत्वका विभिन्न भग्नावशेषहरु सहितको बृहत संग्राहलय निर्माण प्रक्रियामा, पाँच सय जना बस्न मिल्ने ज्येष्ठ नागरिक संरक्षण केन्द्रको स्थापना गर्दै, लामीरह बहुउद्देश्यीय बाँधको डिपिआर तयार लगायत शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, पूर्वाधारविकास लगायतका क्षेत्रहरुमा कामहरु भएका छन् ।

कृषि क्षेत्रको विकासका लागि के कस्ता कामहरु भएका छन् ?

कृषिमा आधुनिकरण गरेर अर्गानिक उत्पादन बढाउनु प्रमुख आवश्यकताको विषय हो । भर्खर मात्र हामीले आईपिएम पाठशालाको सुरुवात गरेका छौं । यो चर्तुजिव सम्बन्धी पाठशाला हो । हाल तीन ठाउँमा सञ्चालनमा ल्याएका छौं । जसले कृषकहरुलाई रोग कसरी लाग्छ ? उक्त रोगको निधान के हो ? भनेर एउटा टोली लागि परेको छ । आगामी बर्ष यो कार्यक्रम नगरपालिकाका ११ वटै वार्डहरुमा सञ्चालन गर्दै छौं । पशुहरुको ल्याब परीक्षण गर्ने, गोठमै पशुस्वास्थ्य सेवा उपलब्धता गराउने, भकारो तथा गोठ सुधारका गर्ने, दुग्ध क्षेत्रको विकासको लागि आवश्यक योजनाहरु सञ्चालन गर्ने, कृषि बजारको व्यावस्थापन, कृषक प्रोत्साहनका लागि विभिन्न अनुदान तथा सहुलियतका कार्यक्रमहरु सहित कृषि क्षेत्रको विकासमा लागेका छौं ।

जनप्रतिनिधीहरु सँग काम गर्न कठिन छ भन्ने सुनिन्छ, यहाँलाई त्यसको अनुभव कत्तिको छ ?

अहिले खासै छैन । विगतमा कार्यसम्पादन गरेका स्थानियतहहरुमा केही त्यस्ता समस्याहरु आएपनि अहिले त्यो अवस्था छैन । नगर प्रमुख केन्द्रिय प्रशासन लगायत सबै क्षेत्रहरु बुझेको हुँदा सैनामैनामा काम गर्न धेरै राम्रो वातावरण छ । कानून बाहिरका कामहरु गर्नु पर्छ भन्ने कुनै दबाव छैन । हुन त यो पनि तराईको जिल्ला अन्र्तगतको नगरपालिका हो तर अन्य स्थानिय तहहरु भन्दा सैनामैना फरक शैलीमा सञ्चालित रहेको छ । १४ बर्ष स्थानिय निकाय र तहमा बसी कार्यसम्पादन गरेकोले काम गर्न कुनै कठिन छैन । कानूनको परिधीभित्र रहेका टेवलमा आएका कुनै पनि फाईल पाँच मिनेट भन्दा धेरै समय रहँदैनन् ।

अन्त्यमा, स्थानिय तहहरुका समस्याहरु के कस्ता छन् ?

संघ, प्रदेश र स्थानिय तहहरु बीच राम्रो समन्वय नहुनु प्रमुख समस्या हो । वास्तवमा स्थानिय तहहरु भनेको जनताले चिमोट्ने सरकार, सुनाउने सरकार र सुन्ने सरकार हो । सबै कुरा तथा कामहरु स्थानिय सरकार सँग ठोकिन्छन् । तर स्थानिय सरकार कुराहरु माथिका दुई सरकारहरुले कम सुन्दछन् । स्थानिय तहहरुलाई प्रदेश र संघले हेर्ने दृष्टीकोणमा व्यापक परिवर्तन गर्न जरुरी छ । सबै स्थानिय तहहरुमा जनशक्तिको अभाव छ । अभाव परिपुर्ती गर्ने आधारहरु भएपनि राज्यले ध्यान केन्द्रित गर्न नसक्दा सेवा प्रवाहमा कठिन हुनुको साथै विकास निर्माणको गतिमा अवरोध सृजना गरेको छ । अर्को कर्मचारीहरु स्थानिय तहहरुमा आएर काम गर्न नखोज्नु समस्याको हो । स्थानिय तहहरुमा कर्मचारीहरु किन जान मान्दैनन् ? भन्ने कुरामा राज्यले राष्ट्र सेवक कर्मचारीहरुको मनोभाव बुझ्न जरुरी छ । अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकबाट

प्रतिकृया दिनुहोस


Techie